जुरे पहिरोको चार वर्ष : राहत रकम खातामा, पीडित अझै बासकै खोजीमा
१७ साउन २०७२ को रातमा जुरेमा पहाडै खस्यो । राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ जनाले ज्यान गुमाए । धेरैजना घाइते र अंगभंग भए । सयौंको घरवास उठ्यो । पहाड नै खसेपछि १४ घण्टासम्म सुनकोशी थुनियो । १४ घण्टा सुनकोसी बगेन, जुरेमा आँसु मात्र बगिरह्यो ।
पहाडै खसेर १ सय ४५ को जीवनलीला समाप्त भएको सुनकोशी विपत्तिको चार वर्ष बितिसक्यो । यस बीचमा पहिरोस्थलबाटै सडक छिचोलियो, पहिरोमाथि सवारीसाधन गुड्न थाले । पहिरो गएको ठाउँमा काँस फुलेको छ यतिबेला । पहिरोमा काँस त पलायो, तर पीडितका मनमा खुसी पलाउन सकेको छैन । न त पीडा भुल्न नै सकेका छन् उनीहरुले ।
पीडितको नाममा संकलन भएको साढे २ करोड जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा भएको छ । तर पीडितहरु अहिले पनि कहाँ गएर बस्ने भन्ने अन्यौलमा बस्न बाध्य छन् ।
जसरी पहिरोमा मानिसहरु हराए, त्यसरी नै पहिरो पीडितका नाममा संकलित २ करोड २४ लाख राहत रकम हराइरह्यो चार वर्षसम्म । पहिरो पीडितको राहत रकम सरकारले नै ‘कब्जा’गरिरहेपछि पटक पटक पीडितहरु जिल्ला प्रशासन कार्यालय धाए, गृह मन्त्रालयसम्म पनि धाइरहे । चार वर्षसम्म पनि जसका नाममा पैसा संकलन भयो, उनीहरुले नै पाएनन् ।
रकम खातामा, पीडित छाप्रामा
गृह मन्त्रालयले जुरे पहिरो पीडितका लागि आएको राहत रकमको खाता फुकुवा गरेको नै वर्ष दिन बितिसक्यो । तर खाताको पैसा पीडितका हातमा पुगेन । न त उनीहरुका लागि पुनर्वासको योजनाले नै मूर्त रूप लिन सक्यो । जुरे पहिरोको चार वर्षका बीच जिल्लामा सातजना सीडीओ फेरिए । तर पीडित÷विस्थापितहरुको अवस्था फेरिएन ।
पीडित÷विस्थापित सबैको पीडा उस्तै छ । एकातिर परिवार गुमाउनुको पीडा त छँदै छ, चार वर्ष बितिसक्दा पनि बासको व्यवस्था नहुँदा उनीहरुमाथि अर्को पीडा पहाडझैं उभिएकोे छ । ‘हाम्रै नाममा सरकारी खातामा पैसा छ, तर हामीलाई बस्ने एउटा घर छैन,’ पहिरोपीडित राम्चे इटीनीका लोकबहादुर तामाङले भन्नुभयो ।
चार वर्ष बित्दासमेत आफूहरुको समस्या समाधानका लागि सरकारी तवरबाट केही प्रयास नभएकोप्रति उहाँले आक्रोश पोख्नुभयो ।
पहिरो पीडितले क्षणिक रूपमा राहत त पाए, तर दीर्घकालीन व्यवस्थापनका लागि कुनै प्रयास हुन सकेको छैन । सरकारी उदासीनताका कारण विस्थापितहरुको पुनर्वासको व्यवस्था हुन नसकेको हो । चार वर्षसम्म बिना ठेगानाको शरणार्थी जिन्दगी बिताइसकेका छन् सुनकोशी पहिरोपीडित ।
कोही लामोसाँघुस्थित म्याग्नेसाइटको जग्गामा शरणार्थी बनिरहेका छन्, कोही काठमाडौंमा भाडामा बसिरहेका छन् । चार वर्षसम्म पनि सरकारले केही नगरेको गुनासो उनीहरुको छ । ।
पीडितको खाता फुकुवा भए पनि संकलित रकम वितरण गर्ने वा घर नै बनाइदिने भन्ने टुंगोमा पुग्न नसकेपछि दैवी प्रकोप उद्धार समितिले सरोकारवाला तथा पीडितहरुसँग पटकपटक छलफल चलायो । तर सार्थक हुन सकेन । सरोकारवाला र पीडित प्रभावितसँग सर्वपक्षीय छलफल गरेर टुंगोमा पुग्ने जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । ‘सर्वपक्षीय छलफल गरेर दसैंको सेरोफेरो पारेर वितरण गर्छौं,’ उहाँले भन्नुभयो, ‘मंसिरसम्म जुरेपीडितका समस्या सम्बोधन गर्नेछौं ।’
चार वर्षसम्म सरकारी खातामा जम्मा भएर बसेको रकमको आशमा बाँचेका अधिकांश पहिरो पीडितले दैवीप्रकोप उद्धार समितिसँग घर घडेरीकै माग गरेका छन् । कतिपयले भने रकम नै वितरण गर्नुपर्ने बताउँदै आएका छन् ।
जुरे पहिरोमा परिवारसहित घरवास गुमाएका साबिक मांखा कागुनेका रामबहादुर तामाङ आफ्ना नाममा संकलित रकम वर्षौंसम्म सरकारी खातामा रोकिएर बस्नु दुःखद भएको बताउनुहुन्छ । ‘परिवारलाई पहिरोले पु¥यो, भएको जग्गाजमिन पनि सबै बगाइदियो,’ तामाङले भन्नुभयोे, ‘न हातमा पैसा प¥यो, न घरवासकै व्यवस्था भयो ।’
पहिरोले मात्र हैन, सरकारले पनि विस्थापित गरायो
मांखा कागुनेका बहादुर तामाङको परिवार दुई वर्षसम्म लामोसाँघुस्थित नेपालओरियन्ट म्याग्नेसाइट परिसरमा पालमै बस्योे । सडक विभागले जग्गा खाली गर्न भनेपछि उहाँको परिवार त्यहाँबाट पनि विस्थापित भयो ।
पहिरोले कागुनेबाट विस्थापित गरायो, म्याग्नेसाइटबाट सरकारले नै विस्थापित बनायो र पहिरोमुनिको ड्यामसाइडमा पु¥यायो । ड्यामसाइडमा एउटा कुखुरा फर्मलाई भाडामा लिएर उहाँ बसिरहनु भएको छ । मासिक १ हजार रुपैयाँमा भाडामा लिइएको त्यही टहरो नै उहाँको घर हो ।
पहिरोले जग्गा जमिन सबै लग्यो, पहिरोको थाप्लोमा रहेको घर पनि भूकम्पमा भत्किएपछि थातथलोमा अब कहिल्यै नफर्कने मनस्थितिमा हुनुहुन्छ उहाँ । ‘घर भएको ठाउँ त अहिले झाडी भएको छ, अब त गाउँमा गएर बस्न सकिँदैन’, उहाँकी श्रीमती सुनमाया भन्नुहुन्छ ‘कुखुरा पाल्ने टहरो भाडामा लिएर बसेका छौं ।’
थातथलोमै नयाँ जीवनको सुरुवात
चार वर्षअघि पहिरोमा परिवारका पाँच जनालाई गुमाएका ड्यामसाइडका कृष्णराम श्रेष्ठ थातथलोमै फर्किनुभयो । पहिरोमा परी घाइते हुनुभएका उहाँकोे शरीरको घाउ त निको भयो, तर मनको घाउ अझै निको भएको छैन । पहिरोमा घरभित्रै पर्नुभएका उहाँको पेटमा ठूलो चोट लाग्यो । उपचार गराउनुभयो, डाक्टरले च्यातिएको शरीर सिलाइदिए, तर फाटेको मन सिलाउन कसैले सकेका छैनन् ।
पहिरोमा पत्नीसहित दुई बालबच्चा र भाइ गुमाउनुभएका उहाँकोे केही समयअघि विवाह गरेर जिन्दगीको नयाँ अध्याय लिएर थातथलो फर्किनुभएको छ ।
अन्यत्र जग्गाजमिन नभएपछि पहिरोको छेउमै उहाँले घर बनाउनुभएको छ । १ सय ४५ को जीवनलीला टुंगिएको त्यही ठाउँमा उहाँ जीवनको नयाँ अध्याय लिएर फर्किनुभएको छ । ‘अब त पहिरो आउँदैन होला भनेर यहीँ आएँ,’ ड्यामसाइडमा भेटिएका उहाँ भन्दै हुनुहुन्थ्यो, ‘जाने ठाउँ कतै छैन, यहीँ आएँ र घर बनाएँ ।’
एकीकृत बस्ती बसाउने गाउँपालिकाको योजना
पहिरो पीडितका नाममा जम्मा भएको रकम चार वर्षसम्म सरकारी खातामै बस्दा पहिरो पीडित झन् पीडित भइरहेको बलेफी गाउँपालिका काअध्यक्ष केदार क्षेत्रीले बताउनुभयो । ‘हामीले पनि एकीकृत र नमूना बस्ती निर्माणको परिकल्पना गरेका छौं, एकीकृत बस्ती बनाएर पहिरो पीडितलाई राख्न सके उनीहरुको दीर्घकालीन व्यवस्थापन हुनेछ,’ अध्यक्ष क्षेत्रीले भन्नुभयो ।
वडागत रूपमा पुनर्वास रोज्ने र राहत रकम रोज्नेको पहिचान भइसकेपछि त्यसैअनुसार अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
एकीकृत बस्ती निर्माणका कुरा उठे पनि उपल्लो तहबाट विभिन्न बहनाबाजीमा ढिलाइ भइरहेको बलेफी ८ का वडाध्यक्ष चरिबहादुर तामाङले बताउनुभयो । ‘माथिल्लो तहबाट ढिलाइ भइरहेको छ, सय जनाले पुनर्वास रोजेका छन् भने १६० ले पैसा नै रोजेका छन्,’ अध्यक्ष तामाङ भन्नुहुन्छ, ‘अब जिल्ला दैवी प्रकोप उद्धार समितिले आवश्यक प्रक्रिया अघि बढाउनुपर्दछ ।’
सांसदहरु प्नि पुनर्स्थापनामा लाग्ने
यस क्षेत्रका सांसद अग्नि सापकोटाले यो वर्षभित्र जुरे पीडितलाई उपयुक्त स्थानमा पुनर्वासका लागि पहल गर्ने बताउँदै आउनुभएको छ । ‘तातोपानी नाका सञ्चालनका लागि अलि बढी लागियो, यसमा अलि ध्यान नपुगेको पनि हुन सक्छ, अब जुरेलाई प्राथमिकतामा राखिन्छ,’ सांसद सापकोटाले भन्नुभयो ।
प्रदेश सांसद सरेश नेपाल भने जुरे पहिरो पीडितलाई एकीकृत बस्ती बसालेर राख्ने विषयमा छलफल भइरहेको बताउँदै आउनुभएको छ ।
आदिवासीको उठिबास
जनमत संग्रहको घोषणा भइसकेको थियो । जुलुुस बढ्दै गर्दा चिरपरिचित एक वाम नेतासंँग जम्काभेट भयो । ऐक्यबद्धता स्वरूप जुलुसमा सामेल हुन आग्रह
६ महिनादेखि टेलिफोन अवरुद्ध, सेवा छैन शुल्क मात्रै
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा ६ महिनादेखि टेलिफोन सेवा अवरुद्ध छ ।ल्याण्डलाइन फोन तथा एडिएसएल इन्टरनेट अवरुद्ध भएपछि सेवाग्राही मर्कामा
दरबार हाइस्कुलको शिलान्यास
महाभूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को पुनर्निर्माणको काम सुरु गरिएको छ । चीन सरकारको सहयोगमा पुनर्निर्माण
प्रतिकृया दिनुहोस